बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार

41

काठमाडौं। नेपाली कांग्रेसले तीन वर्षभन्दा कम उमेरका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा तीन वर्षसम्मका बालबालिका र ७३ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको हो।

कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नसर्ने रोगबाट हुने मृत्युदरलाई एक तिहाइले घटाउने, औसत आयु ७३ वर्ष पुर्‍याउने तथा मातृ मृत्युदर प्रतिएक लाख जन्ममा ८० मा झार्ने उल्लेख छ।

यस्तै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याई सबल स्वास्थ्य प्रणालीको विकास गर्ने नारा कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ। यसैगरी स्वास्थ्य बीमामा शतप्रतिशत नागरिकको आबद्धता हुने व्यवस्था गर्नुका साथै बाल कुपोषण २० प्रतिशतले घटाउने घोषणा गरेको छ।

हाल एक लाख रहेको स्वास्थ्य बीमाको दायरालाई बढाएर १० लाख पुर्‍याउने कांग्रेसको घोषणापत्रमा भनिएको छ। पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरी बीमामार्फत गम्भीर किसिमका रोगको उपचार सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख छ। नेपाली कांग्रेसले आधारभूतबाहेकका अन्य स्वास्थ्य सेवा स्वास्थ्य बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य

सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने जनाएको छ।

घोषणापत्रमा सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनेटरी प्याडको व्यवस्था गर्ने, सुर्ती तथा मदिराजन्य पदार्थको उपभोग बिक्री वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गर्ने नारा पनि कांग्रेसले अघि सारेको छ।

६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा गर्ने बताएको छ। पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका दुई हजार छ सय वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सबै नगरपालिकाका स्थानीय तहमा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगर तथा महानगरमा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ।

हरेक स्थानीय तहमा एम्बुलेन्स पुर्‍याउने, पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र बालरोग, सरुवा रोग, मुटुरोग, क्यान्सर, प्रसूतिजस्ता विशिष्टीकृत अस्पताल निर्माण गर्ने, मुख्य राजमार्गमा ट्रमा सेन्टर खोल्ने, स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालन गरिनुका साथै केन्द्रका लागि आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र उपकरणको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।

दक्ष र सुरक्षित स्वास्थ्यकर्मी भन्ने मान्यतासहित काँग्रेसले स्वास्थ्य जनशक्तिलाई उत्प्रेरित र सेवामा टिकाइराख्न रुचि र विज्ञताअनुसार समायोजन र व्यवस्थापन गर्ने, क्षमता अभिवृद्धि र प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने घोषणापत्रमा समावेश गरिएको छ। नेपाली कांग्रेसले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरी पाँच वर्षभित्र एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्थाको अवधारणा कार्यान्वयन गर्ने जनाएको छ।  गाेरखापत्र

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here