चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण हरिबोधिनी एकादशी

95

एजेन्सी। कार्तिक महिनामा पर्ने एकादशीको हिन्दू धर्ममा विशेष महत्त्व छ। यस दिन भगवान विष्णु चार महिनासम्म योग निद्राबाट ब्युँझिन्छन् र ब्रह्माण्डसँग संचार गर्न थाल्छन् ।

यसबाट शुभ कार्य हुन थाल्छ । यो महिना भगवान विष्णुको सबैभन्दा प्रिय महिना मानिन्छ। हरिबोधनी एकादशीलाई देवप्रबोधिनी एकादशी पनि भनिन्छ। यस दिन भगवान विष्णुको विधिवत जागरण गरी पूजा गरिन्छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सतेका भगवान विष्णु आजैको दिन उठ्नु हुने पुराणहरूमा उल्लेख गरिएको छ।

यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।

विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार शुभ साइत निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि शुभ साइत निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ ।

भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here