रिचार्लीसनको दुई गोलमा ब्राजिलको विजयी सुरुवात

52

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा ब्राजिलले विजयी सुरुवात गरेको छ। बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।  ब्राजिलको जितमा दुबै गोल रिचार्लीसनको नाममा रह्यो। उनले दोस्रो हाफमा गरेका दुई गोलनै ब्राजिललाई सर्बिया विरुद्वको खेलमा तीन अङ्कका लागि पर्याप्त भयो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ब्राजिलले दोस्रो हाफमा अग्रता बनाएको थियो। ब्राजिलका लागि भिनिसियस जुनियरले ६३ औ मिनेटमा गरेको शक्तिशाली प्रहार सर्बियन गोलरक्षकले रोकेपछि पाएको रिबाउन्डमा रिचार्लीसनले सहज गोल गर्दै टिमलाई अग्रता दिलाए।  त्यसअघि ६१ औ मिनेटमा एलेक्स सान्द्रोको प्रहार पोलमा लागेर फर्किएको थियो।  खेलमा अग्रता दोब्बर बनाउने क्रममा रिचार्लीसनलेनै व्यक्तिगत दोस्रो गोल गरे। उनले भिनिसियस जुनियरकै बलमा सानदार भलिमार्फत ब्राजिललाई २-० को अवस्थामा पुर्‍याएका थिए।

त्यसपछि पनि ब्राजिलले निरन्तर सर्बियाको पोस्टमा आक्रमण गरेको थियो। ८२ औ मिनेटमा गाब्रियल जेससको पासमा कासिमेरोले गरेको प्रहार क्रसबारमा लाग्दा ब्राजिल ३-० को अग्रताबाट चुकेको थियो।  त्यसअघि पहिलो हाफमा दुबै टिमले गोलका केही राम्रा मौका पाएपनि गोलरहित बराबरी खेलका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here