सेयर बजारमा दोहोरो अंकको गिरावट

41

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ । आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्प्रेड दरमा कडाइ गर्ने बताएको छ । जसले बैंकहरुको नाफा प्रभावित बन्ने देखिन्छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको वित्तीय क्षेत्रको नाफा प्रभावित बन्ने नीतिगत व्यवस्थाले गर्दा सोमबार सेयर बजार पनि केही प्रभावित बन्न पुगेको छ । अर्कोतर्फ स्रोत अभाव र लागत उच्च हुँदा घाटमा गएको बताइरहेको लघुवित्तहरुको समस्या सम्बोधन हुने नीति आउने अपेक्षा लघुवित्तका लगानीकर्तामा रहेपनि त्यसको सम्बोधन नहुँदा आइतबार सर्वाधिक बढेको लघुवित्त उपसूचकले पनि सोमबार साथ नदिंदा नेप्से घटेको हो । सोमबार नेप्सेमा म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको छ भने वित्त कम्पनीको उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको छ । सोमबार नेप्सेमा ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ४६ लाख ४३ हजारको कारोबार हुँदा नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार र शिवम् सिमेन्टको ६ करोड १६ लाख ६३ हजारको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here