को–को नेता लागे किनारा ? संसदमा नयाँ समस्या बल्झिने खतरा !
काठमाडौं / हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामले केन्द्र र प्रदेश कतै पनि कुनै दलको बहुमत नआउने निश्चित भएको छ । केन्द्र र प्रदेश सबैतिर नेपाली कांग्रेस र नेकपा एमालेबीच नै ठूलो दल बन्ने प्रतिस्पर्धा भयो । केन्द्रमा त अझ साना र नयाँ दलले पनि यसपटक जनमत पाउँदा सरकार गठनका लागि धेरै दल मिल्नुपर्ने भएको छ । यसले विगतमा ५० को दशकमा जस्तै फेरि संसद तथा सरकार अस्थिरताको शिकार हुने निश्चितप्रायः देखिएको छ ।
हालसम्मको मतपरिणामअनुसार कांग्रेस प्रत्यक्ष र समानुपातिकमा जितेको सिटअनुसार पहिलो पार्टी हुने भएको छ । कांग्रेसकै हाराहारीमा एमालेले पनि सिट पाउने भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि तेस्रो र छैटौं स्थानमा हुने सम्भावना देखिएको छ । माओवादीलाई टक्कर दिँदै हालै मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहने देखिन्छ । उसलाई पछ्याइरहेको छ, हिन्दू धर्म पक्षपाती तथा राजसंस्थावासी दल राप्रपा ।
यसपटक पुराना मधेसवादी दलहरुलाई पन्छाउँदै पूर्वी र पश्चिमी तराईमा नयाँ राजनीतिक दलहरुको उदय भएको छ । पुराना जसपा र लोसपाको मतपरिणाम निराशाजनक रहँदा मधेसमा उदाएको जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने दिशामा अग्रसर छ । पश्चिम तराईमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि राम्रै सिट जितेको छ । यसले आगामी दिनमा सरकार बनाउने र गिराउने चलखेल पुनः नेपाली राजनीतिमा दोहोरिने पक्का भएको छ । हालको दिनसम्म सरकारको नेतृत्वमा अहिलेकै सत्ता गठबन्धनले दाबी गर्ने भएको छ ।
प्रत्यक्ष र समानुपातिक गरी २७५ सिट भएको संसदमा बहुमत पु¥याउनका लागि १३८ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनका दलहरु कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जनमोर्चा मिलेर उक्त सिट संख्या पु¥याउने अपेक्षा गरिएको छ । यदि नपुगेमा भने अन्य दलको पनि सहायता पर्ने देखिन्छ । ५० को दशकमा कुनै पनि दलको बहुमत नआउँदा साना दलका नेता पनि प्रधानमन्त्री बन्ने, सांसद किनबेच, पजेरो काण्डलगायत घटना भएका थिए । राजनीतिक अस्थिरता कारण देशमा माओवादी जनयुद्ध पनि सुरु भएको थियो । राजनीतिक अस्थिरताले बदनामी कमाएको त्यो अवस्था अब फेरि दोहोरिन सक्ने चिन्ता राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
यसपटक थुप्रै चर्चित र लामो समयदेखि शक्तिकेन्द्रमा रहेका नेताहरु पनि चुनावबाट पाखा लागेका छन् । ठूला नेताहरुले चुनाव हार्नुमा पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा, टिकट वितरणमा असन्तुष्टि र नयाँलाई अवसर नदिनाले परीक्षण भइसकेका नेताहरुलाई यस पटक जनताले नपत्याएको विश्लेषण गरिएको छ । अर्कोतर्फ सत्ता गठबन्धन र नयाँ दलको लहरका कारण पनि पुराना नेताहरुले हार व्यहोर्नुपरेको देखिन्छ । यसपटक निर्वाचनमा पराजित हुनेमा कांग्रेस, एमाले र माओवादी तथा मधेशवादी दलका ठूला नेताहरु छन् । एमालेका वरिष्ठ उपाध्यक्ष काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन– २ मा स्वतन्त्र पार्टीका हरि ढकालसँग हारे । एमालेकै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, महेश बस्नेत, कृष्ण राईले पनि जित हासिल गर्न सकेनन् । माओवादीका महासचिव देव गुरुङ लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरुङबाट पराजित भए । पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री पम्फा भुसाल पनि यसपटक जित हासिल गर्न सफल भएनन् ।
पूर्वमन्त्री तथा नेकपा एसका नेता विरोध खतिवडा मकवानपुरमा आप्mनै चेला महेश बर्तालाबाट पराजित भए । हाल मन्त्री रहेका नेकपा एसका जीवनराम श्रेष्ठ पनि काठमाडौं–८ मा पराजित भए । उनलाई स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पछि पारे । यस्तै, नेकपा एसका जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीले पनि जित हासिल गर्न सकेनन् । जसपाका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए । लोसपाकै राजेन्द्र महतो पनि माओवादीका महिन्द्रराय यादवसँग हारे ।
पुराना नेताको ठाउँमा युवा नेताहरुले यसपटक अवसर पाएका छन् । तर, राजनीतिक अनुभवको कमीका कारण उनीहरुले संसदमा निर्वाह गर्ने भूमिका कस्तो हुने भन्ने परीक्षणकै चरणमा रहने विश्लेषकहरुको भनाइ छ । अर्कोतर्फ दलहरुबीच मनमुटाव भएमा सरकार बनाउने र गिराउने चलखेल पनि हुनसक्ने र यसले मुलुकलाई फेरि राजनीतिक अस्थिरतातर्फ लैजाने आशंका गरिएको छ । अहिले मुलुकमा अमेरिका तथा पश्चिमा मुलुकदेखि चीन र भारतले पनि सक्रियता बढाउँदै लगेका छन् । अमेरिकाले त एमसीसी पारित र एसपीपी सम्झौताका लागि देखाएको सक्रियताले नेपालमा वैदेशिक हस्तक्षेप कुन रुपमा अघि बढिरहेको छ भन्ने छर्लंग पारेको छ । अर्कोतर्फ भारत र चीनले पनि नेपालबाट आफ्नो सुरक्षाको प्रत्याभूति गर्न खोजिरहेका छन् । त्यसकारण नयाँ बन्ने सरकारलाई कूटनीतिक दबाब पनि भएकाले अस्थिर राजनीतिले मुलुकको आगामी दिन दुर्भाग्यपूर्ण बन्ने जोखिम बढाएको छ । जनधारणा साप्ताहिकबाट


















