धनगढी । धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान चोरी गर्न आएका समूह र स्थानीयबीच भएको मुठभेडपछि गोली चलेको छ।
प्रहरीका अनुसार धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारीको समूहलाई गाउँलेले लखेटेपछि भागेका थिए।
गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जनाए ।
चोर र स्थानीयबीच भएको मुठभेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन्। उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले जनाए । घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा चोट लागेको स्थानीयले जनाए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ।


















