आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद र जरिवाना

60

 

सप्तरी । सप्तरी जिल्ला अदालत राजविराजले १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जिल्लामा पहिलोपटक गम्भीर अपराधको घटना मिलाउन दबाब दिने डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला सुनाएको हो ।

आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट २५ हजार रुपियाँ पीडित परिवारलाई क्षतिपूर्ति दिनपुर्ने फैसला पनि भएको छ । शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही २० हजार रुपियाँ जरिवाना गर्ने फैसला भएको छ ।

सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई किशोरलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ । बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई किशोर अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बालसुधार गृह वीरगञ्जमा छन् ।

सोही घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । अर्का फरार २५ वर्षीय बिसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ ।

प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई २०७७ भदौ ३० गते नै पक्राउ गरेको थियो । उनीहरू जनही एक लाख १० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए । प्रहरीले राजविराजबाट २०७७ पुस ६ गते शत्रुघनलाई पक्राउ गरेकामा अदालतको आदेशानुसार पुस ८ गते दुई लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।

आफ्नो धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि २०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो । बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरूले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी थिइन् । देवराम प्रसाद यादव गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here