काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्ने भएको छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समिति गठन गर्ने भएको हो ।
शिक्षाध्यक्षको नेतृत्वमा केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति बन्ने र सोही समितिले निर्वाचन गराउनेछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले समिति गठनका लागि कार्यकारी परिषद्लाई सिफारिस गर्नेछ । सोही आधारमा परिषद्ले समिति गठन गर्ने निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।
त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्देशनालयको सिफारिसमा परिषद् बैठकले स्ववियु निर्वाचन मिति टुङ्गो लगाएको थियो । समिति गठन भइसकेपछि उक्त समितिले स्ववियु चुनाव कार्यतालिका सार्वजनिक गर्नेछ । र सोही आधारमा चुनाव हुनेछ ।


















