निफ्राको नाफा आक्रामक वृद्धि

89

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को नाफा आक्रामक वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ प्रतिशतले नाफामा वृद्धि गरेको हो ।  आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म बैंकको नाफा बढेर ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ आर्जन भएको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा बैंकले ४४ करोड २६ लाख ४८ हजार नाफा आर्जन गरेको थियो ।

पछिल्लो समय बैंकले आक्रामक कर्जा विस्तार गरेसँगै ब्याज आम्दानी बढ्दा नाफा पनि बढ्न गएको हो । ठूला आयोजना, भौतिक पूर्वाधार तथा विकास परियोजनमा लगानी गर्ने उद्देश्यसहति सकारको समेत लगानीमा स्थापित इन्फ्रास्ट्रक्चर बैंकले २०७९ पुस मसान्तसम्ममा कुल १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सम्भावित कर्जा नोक्सानीबापत ४ करोड २५ लाख १४ हजार रुपैयाँ छुट्याएको छ । पुस मसान्तमा बैंकको सञ्चालन नाफा १ अर्ब ९ करोड ४५ लाख १५ हजार रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ६६ करोड ९६ लाख २० हजार रहेको छ । बैंकले पुस मसान्तसम्म ५७ करोड ७९ लाख ५४ हजार निक्षेप र २ अर्ब २८ करोड २३ लाख १३ हजार रुपैयाँ ऋणपत्रमार्फत स्रोत संकलन गरेको छ । बैंकको प्रकाशित वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here