राष्ट्रिता र स्वाधिनताको रक्षा गर्नु आजको आवश्यकता : जनार्दन शर्मा 

82

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधान, राष्ट्रिता र स्वाधिनताको रक्षा गर्नु आजको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानले समाजवादको परिकल्पना गरेको बताउँदै संघीयतालाई कार्यान्वयन गर्न स्थानीय तहलाई प्रभावकारी बनाउनु पर्ने बताए।

उनले प्रदेशहरूलाई परिणाममुखी बनाउनु पर्ने समेत उल्लेख गरे। शर्माले प्रदेश खारेज गरौं भन्ने आवाज उठिरहेको बताउँदै ऐन अभावका कारण प्रदेशहरूले सास्ती खेप्नु परेको सुनाए।

उनले समृद्धि र सुशासनका लागि १५औं आवधिक योजनामा चलिरहेको बताउँदै त्यसको कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए। उनले भने, ‘कमजोर मनोबल, अस्तव्यस्त संरचना र काम पन्छाउने कार्यशैलीबाट हाम्रो उद्देश्य प्राप्ति हुन सक्दैन।’

पूर्वमन्त्री समेत रहेका शर्माले संस्था र संरचना बलियो बनाउनु पर्नेमा जोड दिँदै राज्यका संघ, संस्था बलियो नभएको अवस्थामा मुलुक कमजोर हुने बताए।

उनले खेतियोग्य जमिन बाँझो हुँदै गएको, शैक्षिक जनशक्ति पलायन भइरहेको बताउँदै उनले उपलब्ध स्रोत साधनलाई प्रयोग गरेर आमकिसान र जनतालाई उत्पादनमा एकीकृत गरेर अघि लैजानु पर्ने औंल्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here