काठमाडौं । सांसद् निशा डाँगीले कति दिनभित्र संसदीय समितिहरू बन्नेछन् ? भन्दै प्रश्न उठाएकी छन् । संसद्को विशेष समयमा बोल्दै सांसद् डाँगीले संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशिल भएर संसद् अघि बढ्न नसकेको भन्दै आपत्ती जनाइन्।
सांसद् डाँगीले भनिन्,‘कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो कामकारबाहीमा गतिशिल भएर अघि बढ्छ ? यी प्रश्न जनताले मलाई गरिरहन्छन् तर म उत्तरबिहीन छु, त्यसैले यी प्रश्नहरूको जवाफ सभामुखमार्फत् सुन्न चाहन्छु ।’
फरक प्रसंगमा डाँगीले झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा सरकारी दरबन्दी आधाभन्दा बढी खाली हुनु दु:खद पक्ष रहेको बताइन् । डाँगीले भनिन्,’मेची अस्पतालमा नयाँ बनेको अस्पताल भवनको निर्माण म्याद कटे पनि हस्तान्तरण भएको छैन ।
भएको पुरानो भवन पनि आंशिक रूपमा क्षतिग्रस्त अवस्थामा रहेको छ, पुरानो भवनमा न त राम्रोसँग सरसफाइ हुन्छ न त उक्त अस्पतालबाट नागरिकले राम्रो सेवा सुविधा नै पाएका छन् । निर्माणयोग्य समानहरु थन्काई,जथाभावी नयाँ मेसिनहरू किनिने गरिन्छ । ’


















