माेरङ । प्रदेशसभाबाट काेशी प्रदेश नामकरण गरेकाे विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी सुरू गरेकाे आन्दाेलनमा मंगलबार विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।
झडपकाे क्रममा ६ जना प्रदर्शनकारी र ६ जना सुरक्षाकर्मी घाइते भएका हुन् । उनीहरूकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी मोरङका प्रमुख एसपी दीपक पोखरेलले बताए ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र ३६ सेल अश्रुग्यास प्रहार गरेको पोखरेलले बताए । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चोक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।
बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै मंगलबार पहिचानवादीहरु प्रदर्शनमा उत्रेका थिए ।

















