थारु समुदायको देउथान स्थापना

57

अविनाश चौधरी

धनगढी । जगननथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखीनियाँ, मदुवा इत्यादि । यी सबै थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन् ।

फरक कुलका विभिन्न देवीदेवतालाई अब कैलालीमा भने एकै थलोमा देख्न पाइनेछ । कैलारी गाउँपालिका–७ रामपुरमा देउथानको स्थापना गरेर एउटै ठाउँमा सबै कुल देवता राखिएको हो । कुल देवताको संरक्षणका लागि थारु गुरुबा बैदवा समाज जिल्ला कार्य समितिले देउथान स्थापना गरेको छ । विभिन्न कुल घरानले मान्दै आएका कुलदेवता त्यसमा राखिएका छन् ।

‘गुरुबा बैदवा र देवीदेवता मान्ने चलन घट्दै गएको छ’, समाजका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले भन्नुभयो,‘यी सबैको जगेर्ना गर्नका लागि देउथान स्थापना गरिएको हो ।’ उहाँले पछिल्लो समय समुदायबाट गुरुबा, बैदवा घट्दै गएकोप्रति चिन्तासमेत व्यक्त गर्नुभयो ।

थारु समुदायमा भोज, भतेरदेखि विभिन्न कार्य वा पूजाका लागि गुरुबा, बैदवा आवश्यक पर्ने गर्दछन् । ‘तर, गुरुबा, बैदवाको सङ्ख्या घट्दै गएको छ’, अध्यक्ष चौधरीले भन्नुभयो,‘यसमा हामी सबैले विशेष ध्यान दिन आवश्यक छ ।’

प्रकृति पूजक मानिने थारु समुदायमा धेरैजसो पूजा गर्न गुरुबा, बैदवा नभई हुँदैन । त्यस कारण हरेक गाउँमा भल मन्सासंगै गुरुबा पनि राख्ने चलन छ । नाचगान गर्नका लागिसमेत गुरुवाको आवश्यकता पर्ने गरेको छ ।

रामपुरमा स्थापना भएको देउथानमा हरेक वर्ष पूजा पनि गरिने जनाइएको छ । कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले धर्म, संस्कृति कुनै पनि समुदायको पहिचान रहेकाले यसको संरक्षण, संवर्धन गर्न आवश्यक रहेको बताउनुभयो । ‘धर्म, संस्कृतिको संरक्षण हामी सबैको दायित्व हो’, उहाँले भन्नुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here