काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।
शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए ।
दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । सगरमाथाको आधार शिविरबाट उनले स्काइडाइभिङ पनि गरेका थिए ।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु प्रस्थान गर्नुअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनेका छन्, ‘पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुशी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ ।’