अर्बपति विनोद चौधरीलाई धनमोह र जनताको अवस्था !

49
एक साताअघि ललितपुरको कुपन्डोल हाइट क्षेत्रमा केही घर भासिए । यसरी घर भासिनुको कारण थियो, नजिकै बन्न लागेको १६ तल्ले अपार्टमेन्ट । शुक्रबार राति भएको त्यो घटनामा कुनै मानवीय क्षति त भएन, तर दुई घर भासिए, केहीमा भत्किए । घटनामा स्थानीयको भागाभाग भयो, अहिले पनि उनीहरु त्रासमा छन् । नजिकै बन्न लागेको ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ ले एक वर्षअघि सम्भ्रान्त वर्गलाई लक्षित गरेर अपार्टमेन्ट र लक्जरियस होटल बनाउन थालेको थियो । त्यसका लागि ३० फिटभन्दा बढी खाडल खनेपछि स्थानीयको घर भासिएको हो ।
उक्त क्षेत्रको पुरानो समिट होटल भत्काएर सम्भ्रान्त वर्गलाई लक्षित गरेर निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट र होटलका लगानीकर्ता हुन्, नेपालका डलर अर्बपति, चौधरी ग्रूपका प्रमुख तथा कांग्रेस सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्य । १६ हजार १९१.१५ वर्गकिलोमिटरमा निर्माणाधीन उक्त अपार्टमेन्ट र होटलमा करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, जहाँ १३० कोठाको पाँचतारे होटल, १६० युनिट लक्जरी अपार्टमेन्ट हुनेछन् । त्यसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइने योजना छ । तर यति ठूलो संरचनाको काम अघि बढ्दा पनि नक्सापास गरिएको थिएन न त वातावरणीय प्रभाव मूल्यांकन नै । स्थानीयको विरोधको बाबजुद जबर्जस्ती त्यहाँ निर्माण कार्य अघि बढेको थियो ।
नेपालकै धनीमध्येका एक चौधरीले पछिल्लो समय राजनीतिमार्फत जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, उनका कम्पनी मातहतका परियोजनाबाट भने जनताले निरन्तर दुःख पाउँदै आएको एउटा उदाहरण हो । अपार्टमेन्ट बन्न लागेको उक्त जग्गा पनि कब्जा गरेको भन्दै अर्का एक स्थानीयले अदालतमा मुद्दा दिएका छन् । यस्तो अवस्थामा चौधरीको व्यापारिक गतिविधि र राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ । यसमा स्पष्ट रुपमा सत्ता, शक्ति र पैसाको चलखेल भएको मान्न सकिन्छ । यसमा नियमन गर्न ललितपुर महानगरपालिका पनि चुक्नुले जनप्रतिधिको भूमिका पनि शंकाको घेरामा आएको छ ।
संसदीय बैठकमा पनि मापदण्डविपरीत समिट होटल निर्माण गर्नेहरूमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । अपार्टमेन्ट बनाउन नक्सासमेत पेस नभएको, वातावरण प्रभाव मूल्यांकन नगरिएको अवस्थामा स्थानीयको विरोधका बाबजुद काम हुनुले सरकार र मन्त्रीको मिलेमतो भएको हुनसक्ने सांसदहरुको आरोप छ । स्वयं समिट होटल प्रालिले पनि विज्ञप्ति जारी गर्दै यस घटनामा कमजोरी भएको स्वीकार गरेको छ । अहिले चौतर्फी रुपमा कसैको ज्यानै जानसक्ने गरी यसरी संरचना निर्माण थालिनु र पैसा तथा शक्तिको पहुँचमा जे सुकै पनि गर्न खोज्ने चौधरी जस्ता प्रवृत्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउनै माग उठेको छ,    जसको निष्पक्ष छानबिन र दोषीमाथि कडाभन्दा कडा कारबाही सरकारले गर्न जरुरी छ , आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here