मेयर हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा मागे

64

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्। उनले बैठक बस्दिनँ भन्ने जनप्रतिनिधिले राजीनामा दिएर मार्ग प्रसस्त बनाउन आग्रह गरेका छन्।

उनले कुनै खास कारण बिना पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि जनप्रतिनिधिले खेलवाड गरिरहेको आरोप लगाए।

उनले वडाध्यक्षहरूलाई हालसम्म भएका काम कारबाहीको विवरणसमेत माग गरेका छन्। ‘वडाहरूमा के–कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकाले वडाहरूमा के कस्ता, के कति काम भएका छन्, तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्ति मार्फत निर्देशन दिन्छु,’ उनले भनेका छन्।

स्थानीय सरकार स‍ञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन) को उपधारा ४ क नगर प्रमुखको काम कर्तव्य र अधिकार को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारण नभएको भन्दै साङपाङले धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको उल्लेख गरे।

‘सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएकाले कार्यपालिकाको अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उल्लंघन गर्नु हो। बैठकमा के एजेण्डामा बोल्ने र कसले कति समयमा बोल्ने भन्ने कुराको निर्णय बैठकको अध्यक्षले गर्नेछ भनी सोही कार्यविधिको सोही दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरी धेरै नबोल्नु समय सकियो भन्दा ‘बोल्छु के गर्छस्’ भन्दै उफ्रनुले त्यस्ता सदस्यहरुको स्पष्टीकरण माग्नै पर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको सेवा गर्छु। आफ्नो कर्तव्य पूरा गर्छु। कुनै पार्टी, जाति, धर्म, बर्ग, क्षेत्र भन्दा माथि उठेर काम गर्छु। भनी खाएको सपथ बिर्सेर पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मान्ने र जनताको विकासका कामहरू गर्न गराउन निर्णय गर्नुपर्ने महत्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरूप्रति खेद प्रकट गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here