काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।
दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब रु पाँच करोड रकम अपचलन भएको छ ।
गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ ।