विश्व हिन्दू महासंघको अधिवेशन रोक्न उच्च अदालतको आदेश

48

काठमाडाैं । संसारभरी रहेका हिन्दूहरुको छाता संगठन विश्व हिन्दू महासंघलाई विवादित तुल्याउने प्रयासमा रहेका चक्रबन्धु अर्यालको योजनामाथि उच्च अदालत पाटनको एक अल्पकालीन आदेशले तुषारापात गरिदिएको छ ।

प्राप्त खबर अनुसार चक्रबन्धु अर्यालसहितको एक समूहले विश्व अवैध तरीकाले यही बिहीबार विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने तयारी गरेपछि परेको रीटमा उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले बिहीबार सुरु हुने महाविधेशन रोक्ने अल्पकालीन अन्तरिम आदेश दिएको हो। अन्तरिम आदेशको टुंगो नलागुन्जेल महाधिवेशन रोक्न भन्दै अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई वैशाख २७ गते बोलाएको छ।

आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विपक्षीहरुलाई समेत सुनुवाइमा सरिक गराइ निर्णय गर्नु मनासिव देखिएको हुँदा सो प्रयोजनको लागि मिति २०८०।१।२७ को पेशी तोकी सो को सूचना विपक्षीहरुलाई समेत दिनु होला। उक्त मितिसम्म विश्व हिन्दु महासंघको मिति २०८०।१।२१ को लागि तोकिएको निर्वाचन अधिवेशनका काम कारबाही नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। सोको जानकारी विपक्षीहरुलाई दिनुहोला।’ महासंघकी कार्यवाहक अध्यक्ष टिकादेवी (अस्मिता) भण्डारीले दायर गरेको रिटमा उच्च अदालतले विपक्षीहरुविरुद्ध कारण देखाउ आदेशसमेत जारी गरेको छ। चक्रबन्धु अर्यालले विश्व हिन्दू महासंघलाई पटक पटक विवादमा ल्याउने तथा विश्व हिन्दू महासंघलाई असफल पार्ने षड्यन्त्रमा लागेका देखिन्छन् ।

क्रिश्चियन मिसनरीहरूको डिजाइनमा महासंघलाई विभाजित गर्न आफूलाई महासंघको निमित्त अध्यक्ष दाबी गर्दै चक्रबन्धु अर्याल सक्रिय बनेका छन् । तर अर्याल भ्रष्टाचारमा डामिएका व्यक्ति हुन् । पूर्व रक्षा सचिवसमेत रहेका अर्याललाई एक दशकअघि नै विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अर्यालले ६६ लाख २ हजार ५ सय ३० रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फैसला सुनाएको थियो । साथै अर्यालले भ्रष्टाचार गरेको रकम बराबर बिगो जरिवाना असुल्न समेत भनिएको थियो ।

भ्रष्टाचारमा दोषी ठहर भएका अर्याललाई महासंघले पनि विधानअनुसार कारबाही गरी सदस्यता समाप्तिको घोषणा गरेको थियो । महासंघसँग कुनै अधिकार नै नभएका शास्त्रदत्त पन्त पनि महासंघलाई कमजोर बनाउन दिलोज्यन दिएर लागि रहेको आरोप लागेको छ । पन्तले जनमानसलाई भ्रम पार्ने गरी गतिविधिहरू गर्दै आइरहेका छन् । महासंघको छाप र लेटरप्याडको दुरुपयोग गर्दै सो समूहले आफूलाई आधिकारिक भएको दाबीसहित महासंघको सम्पत्तिमाथि दुर्दृष्टि लगाएको समेत उनलाई आरोप लागेको  छ । सो समूहले बाँसबारीस्थित महासंघको नाममा रहेको २८ रोपनी जग्गा र भौतिक संरचना कब्जा गर्ने गरी किर्ते काम गर्दै आएको  छ ।

कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको कार्यकारिणी समितिले विधान अनुरूप  अधिवेशन गराउने प्रक्रिया अगाडि बढाइरहँदा महासंघको विधान अनुसार अध्यक्षको उम्मेदवार हुन योग्यता नै नपुगेका व्यक्ति किशोरकुमार गौतमलाई अध्यक्ष बनाउने भनी एकतर्फी रुपमा चक्रबन्धु अर्याल, शास्त्रदत्त पन्तलगायतले चलखेल जारी राखेका छन् । अन्तर्राष्ट्रियका च्याप्टरहरूसँग पत्राचार गरी उपयुक्त समयमा कार्यकारिणी समितिले विश्व हिन्दु महासंघको महासभाको बैठक बोलाउनु पर्ने र सोही महासभामा महाधिवेशन हुने विधानमा उल्लेख छ । तर, नियम कानुन र विधि विधान केही नमान्ने सो समूहले पशुपति क्षेत्रमा रहेको सुमार्गी धर्मशालामा भइरहेको मारवाडी सेवा समितिको कार्यक्रममा केही घण्टा मञ्च मागेर किशोर गौतमलाई माला लगाएर अबिर जात्रा गर्ने कुत्सित योजना रहेको बुझिएको छ ।

यसरी माला र अबिर लगाएकै भरमा महासंघ कब्जा गर्ने प्रपञ्चमा सो समूह रहेको छ । विश्व हिन्दु महासंघको अध्यक्षको दाबी गर्दै आफूलाई गरिएको कारबाही गैरकानूनी घोषित गर्न प्रमोद कुमार चौरडिया उच्च अदालत पाटन गएका थिए । तर उच्च अदालतले अस्मिता भण्डारी कार्यवाहक अध्यक्ष ठहर गरी रिट खारेज गरेको थियो । २०७९ कात्तिक २३ गते न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले गरेको फैसलामा भनिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here