कान्तिपुर मिडिया ग्रुपले सोमबार आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग २०२३’ मा बोल्दै उनीहरुले नेपालमा विद्युतीय गाडीको संख्या बढे पनि सरकारी नीतिमा सुधार आवश्यक रहेको औंल्याए । विद्युतीय सवारीको प्रयोगमा जोड दिन र स्थिर नीति लिन उनीहरुले सुझाए ।
ऊर्जामन्त्री शक्ति बस्नेतले विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको बताए । यसको उपयोगबारे व्यापक रुपमा जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले नागरिकलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक दोस्रो सत्रमा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकार स्पष्ट रहेको बताए ।
त्यस्तै पूर्वमन्त्री तथा विज्ञहरुले अहिलेका नीति कार्यक्रमले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता पूरा नहुने औंल्याए । उनीहरुले विद्युतीय सवारीलाई प्राथमिकता दिई पेट्रोलियम पदार्थको आयात घटाउन सुझाव दिँदै आफूले गरेका प्रतिबद्धता कार्यान्वयनमा तत्परता देखाउन सरकारलाई आग्रह गरे ।
नेपाल विश्वमै प्रदूषित शहरको सूचीमा रहनु राम्रो नभएको उल्लेख गर्दै सहभागीहरुले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न र अल्पकालीन र दीर्घकालीन नीति लिन सुझाए ।
कान्तिपुर टीभीबाट

















