जलहरी सम्बन्धी विषय प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु अनुचित : प्रधानमन्त्री

58

काठमाडौं। पशुपतिको मन्दिरमा लगाइएको जलहरी सम्बन्धमा संसद्‌मा प्रस्तुत धारणाका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन्।

शनिबार बेलुकी बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जलहरी सम्बन्धी विषय प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको जनाए ।

उनले यस्ता विषय संसद्‌को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको पनि स्मरण गराए। यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले मेडिकल सामग्री खरिद गर्दा दुई अर्ब भ्रष्टाचार भएको र पशुपतिमा सुनको जलहरी भनेर पित्तलको लगाएको अभिव्यक्ति राखेका थिए। त्यसप्रति असन्तुष्ट भएको एमालेका कारण शुक्रबारको प्रतिनिधि सभा अवरुद्ध भएको थियो।

शनिबार बिहान तीन दल माओवादी केन्द्र, कांग्रेस र एमालेका नेताहरुको सिंहदरबारमा बसेको बैठकमा यसबारे सहमति भएको थियो। सोही अनुसार प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका हुन्।

उनले जलहरीको विषयमा प्रश्न उठेको र त्यो काम गर्ने पशुपति विकास कोषको भएको जनाए । ‘त्यसका केही विषयमा अख्तियारमा निवेदन परी छानबिन भइरहेको छ। स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने नै छ। सरकारले पनि सहयोग गर्ने नै छ’, उनले भने।

प्रधानमन्त्रीपछि सभामुख देवराज घिमिरेले दुई अर्ब भ्रष्टाचार र सुन भनेर पित्तलसँग सम्बन्धित प्रसंग संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here