काठमाडौं । नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुई नाटक प्रदर्शनमा आउने भएका छन्।
मण्डला थिएटर नेपालले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन्।
कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’मा आधारित नाटक असार २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ। तीन महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले सिकेका कुरालाई मञ्चमा देखाउने अवसरका रुपमा कोराघाटको मञ्चन राखिएको छ।
मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘हिउँभन्दा चिसो’लाई साइकोलोजिकल थ्रिलर जनराको बताइएको छ। हाललाई कथावस्तु र परिवेश नखुलाइएको नाटक ‘हिउँभन्दा चिसो’मार्फत् पुराना रंगकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइने भएको छ।
लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण हिउँभन्दा चिसोमा अभिनय गर्न लागेको र यसले आफूलाई उत्साहित बनाएको सापकोटाले बताएका छन्। नाटक ‘हिउँभन्दा चिसो’मा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ। नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दैछन्।
खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटकहरुलाई मण्डला थिएटरले देखाइसकेको छ। करिब १ घण्टा ३० मिनेट लामो नाटक मण्डलाको प्रेक्षालयमा श्रावण १४ गतेसम्म हरेक साँझ पौने छ बजे मञ्चन हुनेछ।
















