काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मचाउन खोजिएको आरोप लगाएका छन्।
बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रीतम सिंहले बोलेको कुरा आफूले बोले पनि त्यसमाथि बबण्डर मचाउन खोजिएको बताए।
उनले आफूले पुस्तक विमोचन कार्यक्रममा उनी सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए।
प्रधानमन्त्री दाहालले बेलुनरूपी बबण्डर चाँडै फुट्ने पनि दाबी गरे। यो कुराले विपक्षीमा रहेको पूर्वाग्रह र विक्षिप्तता प्रमाणित गरेको बताए।
उनले भने, ‘अब आज म सुन्दै छु, किताब विमोचन गर्दैगर्दा उसले बोलेको कुरा मैले बोलेको हुँ। मैले भनेँ- उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ। मलाई प्रधानमन्त्री बनाउन उहाँ कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि बबण्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला छ।’
उनले चाँडै माओवादीहरू एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन शुरु गर्ने बताए। प्रधानमन्त्री दाहालले जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए।
उनले २०८४ को निर्वाचनमा २०६४ सालमा जितेको सिटभन्दा बढी जित्ने चुनौती दिए।




















