चालू आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार

54

काठमाडाैं ।  चालू आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ।

नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रु‍.दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु‍.दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा छ।

साथै समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ। गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र ब्यांकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ।

नेपाल राष्ट्र ब्यांक बाहेक ब्यांक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक  खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई एक खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ। २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ।

चालू आवको ११ महीनाको आयातलाई आधार मान्दा ब्यांकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महीनाको वस्तु आयात र ९.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
https://www.himalkhabar.com/news/136927

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here