आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश मनाईंदै

26

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।

संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए ।

भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गरेका छन्। आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गरेका छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ ।

भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ । आदिकवि भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो ।

यसैबीच गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here