काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलन टक्सार विभाग लगिएको छ। थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन पठाइएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ। करिब १ क्विन्टल सुन बरामद भएको अनुसमान गरिएको छ।
त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ। लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।

















