युवतीलाई कुटपिट गर्ने ३ जना पक्राउ

61

काठमाडौं ।  सप्तकोशी किनारमा बोलाएर युवतीमाथि कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ युवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुर (भुजेलटोल) कि १९ वर्षीया प्रीति लिम्बु, बराहक्षेत्र नगरपालिका–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई र सोही ठाउँकी २२ वर्षीया बिनित उराउ छन्। उनीहरुमध्ये लिम्बुलाई घटना भएकै दिन पक्राउ गरिएको थियो भने राई र उराउ फरार थिए। उनीहरुलाई पनि पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।

असार २९ गते बेलुका ७ बजेतिर बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित चिहान डाँडाको कोशी किनारमा राजाबासकी १९ वर्षीया मनिषा राईसहित तीन जनाले आफूहरुको बेइजत गरेको भन्दै बोलाएर उनीहरु कुटपिट गरेका थिए। तीन जनालाई माथि पक्राउ गरेकासहित पाँच जनाको समूहले कुटपिट गरेको थियो।

पालैपालो पाँच जनाको समूहले तीन जनालाई कुटपिट गर्दै भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत उनीहरुले सार्वजनिक गरेका थिए। कुटपिट खाएका तीन जनाले असार ३१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिएका थिए। जाहेरी आएकी दिन प्रहरीले लिम्बूलाई पक्राउ गरेको थियो। बाँकी चार जना फरार थिए। उनीहरुमध्ये थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फरार दुई जनाको खोजी भइरहेको र पक्राउ परेकाहरु विरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here