
भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि डेंगु रोग खोज तथा नष्ट अभियान शुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेंगु रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गरेको बताए । उनले सबै समुदायमा रोगसम्बन्धी जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गरिने बताए ।
उनले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्व तयारीका गतिविधि सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रुतरुपमा डेंगु नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताए । स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेंगु रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको बताए ।
नगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरूप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रसलगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सङ्घ संस्था एवं विद्यालयको सहभागिता रहने छ ।
सोअनुसार घरधुरी सर्वेक्षण गरी घर–घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ गर्ने, सबै वडामा डेंगु नियन्त्रण, रोकथाम गर्न खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य संस्थालाई डेंगुको सम्भावित जाँचका लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य शुरु गरिएको उनले जानकारी दिए ।

















