अविरल वर्षाका कारण डुबान

31

काठमाडौैं  । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टाेली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पेट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”

यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here