एजेन्सी । सोसल मिडिया प्लाटर्फम एक्समा लगातार नयाँ परिवर्तन तथा फिचरहरु थप भैरहेका छन् । स्थापनाकालदेखि नै रहेको ट्वीटर नाम परिवर्तन भएर एक्स बनेको यो प्लाटर्फममा प्रयोगकर्ताका लागि एउटा गज्जबको फिचर थप हुँदैछ । जसअनुसार अब प्रयोगकर्ताहरुले एक्स मै जागिर खोज्न सक्नेछन् ।
समाचार अनुसार सामाजिक सञ्जाल एक्समा छिटै नै जब सर्च फिचर थप हुँदैछ । यसबाट प्रयोगकर्ताले यो प्लाटर्फममै आफ्ना लागि जागिर खोज्न सक्नेछन् ।
गत मे महिनामा ट्वीटरले खरिद गरेको जब म्याचिंग प्लाटर्फम लास्कीका पूर्वसीईओ क्रिस बक्केले भनेका छन्-जागिरको खोजी र त्यो भन्दा पनि महत्वपूर्ण योग्य अवसर मिलाउने कुरा । यी दुवै चिज छिटै आउँदैछन् ।
एक्समा भेरिफाइड संस्थाहरुले आफ्नो प्रोफाइलमा अधिकतम ५ वटासम्म पद जोड्न सक्नेछन् ।
एलन मस्कले गत मे महिनौ यो फिचरको संकेत दिएका थिए । आइतबार एक्स प्लाटर्फममा एक पोस्ट गर्दै मस्कले हालसम्म कुनै पनि महान सोसल नेटवर्क नरहेको र आफू कम्तिमा पनि एउटा त्यस्तो प्लाटर्फम बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।
उनले भनेका छन्, ‘हामी असफल हुनसक्छौं, जसरी केही मानिसहरुले भविष्यवाणी गरेका छन् । तर हामीले कम्तिमा पनि एउटा यस्तो काम गर्ने पूरा कोसिस गर्नेछौं ।’
स्मरण रहोस् एलन मस्कले एक्स प्लाटर्फमलाई एउटा सम्पूर्ण सुविधायुक्त एपका रुपमा विकास गर्ने योजना बनाएका छन् ।


















