थारू समुदायले दुई दिनसम्म अट्वारी पर्व मनाइँदै

70

धनगढी  । पश्चिम तराईवासी थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ। निराहार व्रत बसेर आइतबार र सोमबार दुई दिनसम्म यो पर्व मनाउन लागिएको हो। पश्चिम कञ्चनपुरदेखि दाङसम्म धुमधामसँग यो पर्व मनाउने गरिन्छ।

अन्य महिलाले तिज मनाउँदै गर्दा थारू समुदायका महिलाले सो पर्व मनाउँदै आएका छन्। मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार व्रत बस्ने चलन रहेको छ। व्रतालुहरूले दिउँसोतिर पूजाआजा गरेर मात्र जल ग्रहणका साथै अन्डीको रोटी, फलफूल, दुध खाने चलन रहेको छ।

उक्त परिकारहरू खानुभन्दा अगाडि एक भाग निकालेर आफ्ना विवाहित दिदीबहिनीका लागि छुट्टै राख्ने गर्दछन्। पर्वको दोस्रो दिन व्रतालुहरूले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका मिठा मिठा परिकार खाने गर्दछन्। दोस्रो दिन खरिया, फुलौरी, खुर्मा, माछा, मासु जस्ता परिकार खाने चलन रहेको छ। यसलाई थारू भाषामा ‘फरहार’ गर्ने भनिन्छ। अन्डीको रोटीसहित खानाका सबै परिकार पर्वको दोस्रो दिन आफ्ना विवाहित छोरीचेलीलाई उपहारका रूपमा दिने चलन छ।

यसलाई ‘अग्रासन’ दिनु भनिन्छ। माइतबाट अग्रासन पाएमा विवाहित छोरीचेलीहरू खुसी हुने गरेको धनगढी उपमहानगरपालिका–९ बङ्गराका दिनेश चौधरीले बताउनुभयो। थारू समुदाय प्रकृतिपूजक रहेकाले अग्नि पूजाको रूपमा सूर्य देवताको पूजा गरेर अट्वारी पर्व मनाउने चलन छ।

सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अट्वारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घजीवन मिल्ने गरेको थारू बुद्धिजीवी एवं साहित्यकार छविलाल कोपिलाको भनाइ छ।

अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग पनि जोडिएको बताइन्छ। पाँच पाण्डवमध्येका माइलो भाइ भीमले अप्ठ्यारोमा परेकी थारू चेलीलाई सहयोग गरेका कारण भीम अर्थात् भेँवाको पूजाआराधना गरी अट्वारी मनाउने गरेको किंवदन्ती रहेको छ। भीमले तावामा राखेको रोटी एकैतर्फबाट मात्रै पाकेकाले अट्वारीमा खाने अन्डीको रोटी थारू समुदायले एकैतर्फबाट मात्रै पकाउने गरेको बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here