सुर्खेत । पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्, उनीमाथि बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि भने बलात्कारको आरोप छ।
ती बालिका असोज ४ गते बेलुका छिमेकीको घरमा चलेको नाचगान हेर्न गएकी थिइन् । साँझ ९ बजेतिर पिसाब लागेपछि उनि नजिकैको सडकमा आइन् ।
राती ११ बजिसकेको थियो । नाचगान सकिएर सबै आ–आफनो घरतिर लागे । ती बालिकाले चिनेको गाउँकै एक १६ वर्षिया युवाले ‘बहिनी हिड् तिमीलाई घर पु¥याईदिन्छु’ भन्दै बोलाए । चिनेको दाइले बोलाएपछि ती बालिकाले विश्वास गरिन । ती गाउँका दाईसँग उनका एक १५ वर्षीया साथी पनि थिए ।
घरजाने क्रममा मध्यबाटो पुगेपछि ती गाउँको दाइले त्यहाँ नजिकै आफनो साथीको घर भएको त्यतै सुत्न आग्रह गरे । ‘बालिकाले मानिनछिन्, त्यसपछि उनको मुख छोपेर हातखुट्टा समात्दै साथीको घरमा लगेछन्’, बालिकाको बयान उद्धृत गर्दै डीएसपी शाहीले अनलाइनखबरसँग भने, ‘…अनि सामुहिक बलात्कार गरेर ती बालिकालाई त्यही छोडेर पसल जान भन्दै निक्लिएछन् ।’
केही समय बालिका अचेत भइन् । होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गइन् । ‘त्यो महिनावारी भएकाबेला सुत्ने छाउ गोठ रहेछ । ती बालिका त्यही सुतिछन् । त्यसको एक घण्टापछि उनी पुनः बलात्कृत भइछन्’ डीएसपी शाहीले भने ।
गोठमा सुतेको एक घण्टापछि उनलाई उठाउन चिनेजानेकै १५ वर्षीय अर्का किशोर आए । उनले ‘तिम्रो घरकाले खोजिरहेका छन् । छिटो आउ अरे । नभए यतै आएर पिट्ने भनेका छन’ भन्दै बोलाए । उनलाई फेरि बलात्कार गर्ने योजनाका साथ बोलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनी बाहिर निस्कँदा नजिकै अर्का १६ वर्षीय किशोर बसेका रहेछन् । उनको जिम्मा लगाएर बोलाउन गएका किशोर गए । रातिको २ बजे ती १६ वर्षीया किशोरले पनि गोठमा लगेर बलात्कार गरेका प्रहरीको दाबी छ ।
यसरी केही घण्टाको फरकमा फरक–फरक व्यक्ति र स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । बिहान पख ११ बजे मात्रै उनी घर पुगिन् र सबैकुरा परिवारलाई भनिन् ।
परिवारले दिउँसो २ बजे प्रहरीलाई खबर गरेपछि ती युवकहरुलाई पक्राउ गरिएको डीएसपी शाहीले जनाए।
प्रहरीका अनुसार पक्राउ परेका ती यूवाहरु सबैले एकअर्कालाई नचिन्ने बयान दिएका छन् । ‘फरक–फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको आरोपीहरूले स्वीकारेका छन्,’ डीएसपी शाहीले भने ।
ती बालिका शारीरिक र मानसिक रूपमा बिछिप्त भएको र उनको उपचार भै रहेको प्रहरीले जनाएको छ ।


















