तालबाराहीको पूरानो मन्दिर भत्काएर नयाँ मन्दिर बनाउन शिलन्यास

55

पोखरा । तालबाराही मन्दिर पुग्ने भक्तजनले अहिले मुख्य मन्दिरको अवशेष मात्रै देख्न पाउँछन्। भत्काइएको मूल मन्दिरको अवशेष रातो कपडाले छोपेर राखिएको छ। मन्दिर दर्शन गर्न आएका भक्तजन सहायक मन्दिरमा पूजाअर्चना गरेर फर्कन्छन्।

प्यागोडाशैलीमा बनेको तालबाराहीको पूरानो मन्दिरलाई भत्काएर २ साताअगाडि नयाँ मन्दिर बनाउन शिलन्यास गरिएको छ। तर, ठेक्का पक्रिया अझै पूरा भएको छैन। आस्थाको धरोहरको रुपमा रहेको तालबारही मन्दिर विक्रम संवत १४४७ सालमा स्थापना विभिन्न अभिलेखमा उल्लेख छ। २०७२ सालको भुकम्पले चर्काएपछि पुनर्निर्माण गर्न भत्काइएको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण गरिएको हो। त्यसअगाडि खरले छाएको सानो मन्दिर थियो।

राजा महेन्द्र पोखरा आएको बेला जिर्णोदार गर्न पहल गरेपछि प्यागोडा शैलीमा दुई तले मन्दिर निर्माण भएको हो। भुकम्पले लच्किएको मन्दिर जीर्ण भएपछि नयाँ बनाउन लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव ध्रुवराज बरालले बताए। ‘७२ सालको भुकम्पले लच्किएको थियो। त्यसपछिको पराकम्पले मन्दिर जीर्णजस्तै भएकाले भत्काइसकेका छौँ’, उनले भने, ‘पुनर्निर्माणमा आवश्यक पर्ने सालको काठलगायत ढुंगाको व्यवस्थापनको सबै पक्रिया पूरा भएको छ।’

पहिलो चरणमा तालबाराहीको मुख्य मन्दिर पुनर्निर्माण हुनेछ। जसको लागत २ करोड ५० लाख रुपैयाँ अनुमान गरेको गुठी व्यवस्थापन समितिका सचिव बरालले जानकारी दिए। उनका अनुसार मन्दिरको पुननिर्माणमा गुठी संस्थान र पुरातत्व विभागले सघाउनेछन्।

गत वैशाखमा गुठी संस्थान र पुरातत्व विभागसँग समन्वय गरेर मन्दिर भत्काउन सुरु भएको थियो। सुरुमा पुरानो मन्दिरको काठ पनि प्रयोग गर्ने तयारी थियो। तर, त्यसले छिट्टै जोखिम निम्त्याउने सक्ने भएकाले अब नयाँ काठको प्रयोगबाट पुनर्निर्माण हुने तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुवँरले सुनाए।

उनले भक्तजनले मन्दिर पुनर्निर्माण गर्न दिएको रकम अनावश्यक काममा खर्च नगरेको दाबी गरे। ‘पूराना काठहरु पनि केही प्रयोग गर्न सकिने अवस्थाका पनि थिए। भोलि त्यसले अर्को घटना घट्यो भनेरु आज ६३ वर्षमा मन्दिर खोलियो भने भोलि २००र३०० वर्षमा पनि भत्काउन नसकियोस् भन्ने हेतु छ’, कुवँरले भने।

मन्दिर पुननिर्माणसँगै तालबाराही क्षेत्रको विकासको लागि ९ करोड रुपैयाँको बृहत गुरुयोजना तयार भएको छ। मन्दिर व्यवस्थापन समितिले नीजि क्षेत्रसँग सहकार्य गरेर बनाएको गुरुयोजना पुरातत्व विभागसँग थप छलफल गरेर मात्रै कार्यन्वयन हुने कोषाध्यक्ष निर्मल खत्रीले जनाए । ‘मन्दिरको धार्मिक, साँस्कृतिक महत्वमा कमी नआउने गरेर केबल मन्दिरको बाहिरी आवरणको सौन्दर्यकरणमा मात्रै गुरुयोजना बनाएका छौँ’, उनको धारणा  थियो।

उनका अनुसार मन्दिरको पुनर्निर्माण गर्न लाग्ने रकम २ करोड बढी भक्तजनबाटै संकलन भएको छ। ‘मन्दिर आउने भक्तजनबाट दैनिक रसिद काटेर आर्थिक संकलन भइरहेको छ’, उनले भने। बृहत गुरुयोजनाअनुसार काम गर्न आर्थिक संकलनका लागि फागुनमा महायज्ञ सञ्चालनको तयारीसमेत मन्दिर गुठी व्यवस्थापन समितिको छ।

पोखरा आउने अधिकांश पर्यटकको पहिलो रोजाइ फेवाताल हुन्छ। फेवातालमा पुगेका पर्यटक डुंगा सयर गर्दै तालबाराही मन्दिरमा पुग्ने गर्छन्। पछिल्लो समय धार्मिक पर्यटकका लागि तालबाराही मन्दिर जाने बाराही घाटमा साँझपख प्रस्तुत गरिने आरती पर्यटनको नयाँ प्रडक्ट बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here