काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले १० मंसिरदेखि सर्वसाधारणबाट आवेदन माग गर्न लागेको हो ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।
सञ्चित नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षबाट भने नाफामा जाने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५५ पैसा र सञ्चित नोक्सानी ७ करोड १४ लाख ९७ हजार रुपैयाँ छ ।


















