हाम्रा नेता जता जान्छन् उतै कालो झण्डा किन ?

139

– राज्यलक्ष्मी शाक्य

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिका भ्रमणमा पुगेका बेला कालो झण्डा देखाएर विरोध गरेको समाचार नेपालका सञ्चार माध्यमहरूमा निकै चर्चित बन्यो । स्वयम बाबुरामले त्यो घटनाको निन्दा गर्दै आफ्नो स्वागतमा उपस्थित रहेका पाँच सय भन्दा बढिको उपस्थिति समाचार नबन्नु तर पाँच जनाको विरोध र नाराबाजी समाचार बन्नु आश्चर्य भएको प्रतिक्रिया जनाएका थिए ।

बाबुरामको विरोधमा कालो झण्डा देखाउने नेपालीहरू अमेरिकामा पक्राउ परेको वा उनीहरूलाई कालो झण्डा देखाउन अमेरिकी प्रशासनले अवरोध सृजना गरेको समाचार सुन्नमा आएन । त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका भ्रमणमा रहेका बेला उनको विरोधमा पनि कालो झण्डा प्रदर्शन गरिएको समाचार नेपालका सञ्चारमाध्यमहरूमा प्रकाशन र प्रसारण भएको देखियो ।

ओलीको विरोधमा उत्रिएका नेपालीहरूलाई पनि अमेरिकी प्रशासनले अवरोध गरेको वा पक्राउ गरेको समाचार पढ्न र सुन्न पाईएन । तथापी नेपालका नेताहरू विदेशमा पुग्दा पनि आफ्नै देशका नागरिकहरूबाट अपमानित हुनु पर्ने अवस्था विकसित भएको छ । नेताहरू विदेश भ्रमणमा जाँदा उनीहरू विरुद्ध प्रदर्शन गरिने कार्यक्रमहरूले जनतामा नेताहरूप्रति रहेको असन्तुष्टिलाई प्रतिनिधित्व गर्दछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा पुगेका बेला लण्डन सहरमा मोदी विरुद्ध पनि कालो झण्डा सहित विशाल प्रदर्शनी भएको थियो । त्यहाँ पनि मोदीको विरोध गर्नेहरूलाई लण्डन प्रशासनले अवरोध गरेको वा पक्राउ गरेको भन्ने समाचार पढ्न पाईएन । परन्तुः मोदीकै विरुद्ध कालो झण्डा देखाउन नेपालको राजधानी काठमाडौंमा भने निषेध गरियो ।

कालो झण्डा देखाउन तयारी गरेको आरोपमा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई पक्राउ गरेर ६ दिन सम्म थुनामा राखी असोज १९ गते (भोलि) हाजिर हुने गरी धरौटी तारिखमा रिहा गरिएको छ । भोलिको तारिखमा उनलाई कस्तो सजाय तोकिने वा फेरि अर्काे तारिख दिईने हो कि होईन ? भोलिनै थाहा भैहाल्ला !

नेपालका नेताहरूका गालामा नेपाल भित्रै पनि थप्पड बर्षिएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका झलनाथ खनाल, तत्कालीन नेकपा केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका चर्चित नेता अर्थात नेपालकै उत्कृष्ट अर्थमन्त्रीको उपाधी विदेशी मुलुकबाट पाएका डा. रामशरण महत आफ्नै कार्यकर्ता पंक्तिबाट थप्पड पाइसकेका नेताहरू हुन् ।

नेताहरूलाई थप्पड हान्ने कार्यकर्ताहरू तत्काल नेताहरूकै पक्षमा रहेका कार्यकर्ताहरूबाट अत्यन्त निर्दयताकासाथ कुटिएका घटना पनि देखिएका थिए । ती कार्यकर्ताहरूले आफ्ना नेताहरूको गालामा किन थप्पड वर्र्षाए भन्नेबारे जानकारी लिने प्रयास कतैबाट भएको पाईएन । ती थप्पडहरू पनि जनतामा नेताहरूप्रति बढेको असन्तुष्टिका प्रतिनिधि घटना थिए भन्ने कुरा प्रष्ट छ ।

नेपालमा विरोध गर्नै नपाइने तर विदेशमा विरोध गर्ने स्वतन्त्रता मात्र होइन, कालो झण्डा देखाएर लखेट्ने स्वतन्त्रतासमेत पाएपछि सचेत नेपाली नागरिकहरू अब विदेशतिरै संगठित बनेर नेपालका नेताहरूलाई विदेशतिर घुम्नै नदिने अवस्था सृजना नहोला भन्न सकिन्न । नेपालमा विरोधका लागि निषेधित क्षेत्रसमेत तोकिएका छन् । राम्रो काम गरेर विरोध गर्नै नपर्ने अवस्था बनाउनतिर नेताहरू लाग्न सक्ने हो भने विरोधलाई निषेध गर्नुपर्ने आवश्यकता पनि रहने छैन ।

राम्रो काम गर्न नसकेपछि विरोध हुनु स्वाभाविक हो । विरोध हुने काम गरेपछि विरोधलाई निषेध गर्नृु प्रजातान्त्रिक आचरण अवश्य होइन । नेपालका नेताहरूलाई विदेशमा भइरहेका कालो झण्डाका विरोधहरू जनतामा नेताहरूप्रति बढिरहेको आक्रोश हो भन्ने ब्झेर जनताको अपेक्षाअनुसार देशमा काम गर्न नेताहरूलाई मार्ग प्रशस्त होस् भन्ने चाहना बाहेक कालो झण्डा देखाउनेहरूले अरु के नै लिएका होलान् ? [email protected]

-जनधारणा सप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here