काठमाडौं । ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन हुनेछ ।
नेपालमा रातको समयमा टेबल टेनिस प्रतियोगिता हुन लागेको पहिलो पटक भएको आयोजकको दाबी छ । यो प्रतियोगिता ललितपुर महानगरपालिका- ११, ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पाखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा हुन लागेको हो । प्रतियोगिता खुल्ला स्थानमा टेन्ट भित्र गराईनेछ ।
प्रतियोगितामा महिला/ पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा पुरस्कारका लागि ३ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


















