काठमाडौं । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा पद बहाली गरेपछि प्रतिक्रिया दिँदै उनले सो कुरा जनाएकी हुन् ।
फरक प्रसङ्गमा परराष्ट्र सचिवले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताइन् । नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने जनाइन् ।
रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उहाँले अनुमतिपत्र प्रदान गरिने जनाएकी हुन् । ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसकेकी उनले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा सेवा गरेकी थिइन् ।


















