चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७ औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।
बैंकहरूलाई अर्को बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भने, “वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस् ।” बैंकहरूमा लगानीका लागि तरलताको अभाव नभएको भन्दै उनले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताए ।
सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले पछिल्लो समय सङ्घले गरेको क्रियाकलापका बारेमा जानकारी दिएका थिए । सो अवसरमा बैंकहरूबाट प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेर कार्यकाल सम्पन्न गरेका बैंक अफ काठमाण्डूका श्रवण मास्के र नेपाल बैंक लिमिटेडका कृष्णबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।
सङ्घको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन् ।

















