काठमाडौं । अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ । भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । अमेरिकी विदेश मन्त्रालयले पुस २ मा ल्याएको एडभाइजरीमा नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको जिकिर गर्दै यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।
‘जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको हो,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमणका लागि गत असार ८ मा ल्याएको ट्राभल एडभाइजरीमा ६ महिनापछि अद्यावधिक गर्दै नयाँ ल्याएको हो । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य कुनै पनि मुलुकले आफ्नो ट्राभल एडभाइजरी ल्याउनु वा फेरबदल गर्नुलाई स्वाभाविक मान्छन् । ‘नेपालले पनि आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गर्ने गरेको छ । अमेरिकाले आफ्ना नागरिकलाई सुसूचित गर्नका लागि ट्राभल एडभाइजरी ल्याउने गरिरहन्छ,’ उनले थपे, ‘नयाँ एडभाइजरी कर्णाली क्षेत्रमा पछिल्लो पटक गएको भूकम्प र त्यससँगै राजधानीमा भएका केही नागरिक आन्दोलनलाई ध्यानमा राखेर ल्याएको हुन सक्छ ।’
अमेरिकीहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा जाँदा जानकारी दिनु स्वाभाविक रहेको उनको भनाइ छ । तर यसरी अन्य मुलुकले नेपालको सम्बन्धमा ट्राभल एडभाइजरी निकाल्दा राम्रो सन्देश नजाने आचार्यले उल्लेख गरे । ‘अमेरिकाले ट्राभल एडभाइजरी निकाले पनि नेपाली दूतावास वा नेपाल सरकारले पहल गर्दै त्यसलाई हटाएर नयाँ अपडेट गर्न सक्छ । पहिले पनि पुरानोलाई हटाएर नयाँ अपडेट भएको घटना छ,’ आचार्यले भने ।
श्रेष्ठले यस सम्बन्धमा नेपाल सरकारले अमेरिकी सरकारसँग कुरा गर्नुपर्ने बताए । ‘हाम्रो परराष्ट्र मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएर नेपालमा त्यस्तो घटना केही पनि नभएको र यस सम्बन्धमा आएको ट्राभल एडभाइजरी परिवर्तन गर्नुपर्छ भन्ने कुरा बताउनुपर्छ,’ श्रेष्ठले थपे । नेपालमा अहिले कुनै पनि विदेशी नागरिकमाथि आक्रमण नभएको र त्यस्तो अवस्थामा किन ट्राभल एडभाइजरी आयो भन्नेबारेमा बुझ्न जरुरी भएको उनले उल्लेख गरे ।

















