काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको औषधि परीक्षणको गुणस्तर कुनै समस्या नभएको पाइएको छ ।
१८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो ।
‘हामीले औषधिको गुणस्तर हेर्नका लागि दुई–तीन वटा कुरालाई परीक्षण गर्छौं । फर्माकोपिया प्यारामिटरभित्र रहेर औषधिको गुणस्तर हेर्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘औषधिको गुाणस्तर मापदण्ड अनुसार नै भएको पाइयो ।’
पाटन अस्पतालका चिकित्सकहरु भने बिरामीको मृत्यु हुनुमा सुइमार्फत दिइएको औषधि मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने जनाएका छन् ।
‘उहाँहरुलाई त्यही निमोनिया सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो,’ मेडिसिन विभागका प्रमुख प्रा.डा. युवराज शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेका उहाँहरु सँगसँगै बित्नुभयो । तर, त्यो संयोग हुनसक्छ ।’
बिरामीमा उमेरसँगै (अन्य कारण) कहिलेकाहीँ रगतको ढिक्का उछिट्टिएर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने चिकित्सक जनाउँछन् ।
















