प्रिज्मा टेलिभिजन संचालनमा आयाे

64

काठमाडौं । टेलिश्रृंखला मात्रै प्रसारण गर्ने गरि प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रसारण सुरु भएको जानकारी दिइएको छ ।सिरिज मात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रुपमा मुलुककै पहिलो च्यानल हुने सञ्चालकले जनाएका छन् । आयोजित कार्यक्रममा अभिनेता तथा निर्देशक एवं प्रिज्मा टेलिभिजनका संरक्षक नीर शाहले यो टेलिभिजनले विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्ने विश्वास आफूले लिएको बताए ।

फिल्म क्षेत्रलाई जस्तै टेलिभिजनलाई पनि संकुचित क्षेत्रभित्र राख्दै आएको बताउँदै टेलिश्रृंखलालाई संकुचित घेराभित्र राख्न नहुने उनको भनाइ छ । शाहले भने९ ‘दुर्भाग्यको कुरा भन्नुपर्छ, प्रायः हामीले फिल्मको परिभाषालाई जसरी संकुचित घेरामा राखेका छौं, त्यसरी नै टेलिश्रृंखलालाई पनि यही घेराभित्र राख्ने गरेका छौं ।’
नेपाली दर्शकलाई एक सूत्रमा बाँध्न मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने उद्देश्यले टेलिभिजन च्यानल सञ्चालनमा ल्याइएको जानकारी कार्यक्रममा दिइयो । विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपाली डबिङ गरेर प्रसारण हुने जनाइएको छ ।

टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यको रुपमा सिरिजको माध्यम अपनाइने प्रिज्माको प्रमुख उद्देश्य रहेको कार्यकारी निर्देशक निर्जल श्रेष्ठले बताए । प्रसारण गरिने मनोरञ्जनात्मक सामाग्रीले प्रिज्माको परिचयको दायरा फराकिलो बनाउने विश्वास लिएको उनले बताए ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै टेलिभिजनको संचालक एवं कलाकार पनाह अधिकारीले टेलिभिजनका उद्धेश्यबारे प्रकाश पारिन् । साथै अर्का संचालक ईश्वर थापाले धन्यवाद ज्ञापन गर्दै नयाँ उद्धेश्यका साथ आएको प्रिज्मा टेलिभिजनलाई सबैको साथ रहने बताए । कार्यक्रमको संचालन आवजको दुनियाको साथी दिनेश डिसीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here