काठमाडाैं । सौरभ चौधरी लिखित तथा निर्देशित चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको देख्न सकिन्छ । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको ट्रेलर दर्शकलाई नयाँ सरप्राइज दिलाएको छ । साथै, चलचित्रप्रति अपेक्षा चुल्याउन सक्ने र बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर ट्रेलरले देखाएको छ ।
यो चलचित्र बक्स अफिसमा सफल भएको खण्डमा नेपाली चलचित्र क्षेत्रलाई नयाँ कथामा लैजाने विश्वास गरिएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । यस्तै चलचित्रमा सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर रहेको छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ । चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । यो चलचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । चलचित्रलाई नेपालभर डिसिएनले वितरण गर्नेछ । यसलाई अन्तर्राष्ट्रिय वितरण सेभेन सिजले गर्दैछ ।

















