काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पत्रकार महासङ्घको प्रथम सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्नुपर्ने माग दोहोर्याएको छ ।
फोनिजका केन्द्रीय महासचिव मिलन लिम्बूले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुन: माग दोहोर्याएका हुन् । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार सङ्घ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै भएको पुष्टि भइसक्दा पनि उनलाई कायम गर्न अटेर गरिएको भन्दै महासचिव लिम्बूले पुन: माग दोहोर्याएका हुन् ।
यस्तै फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकारजन्य सङ्घसंस्था र व्यक्तिहरूसँग छलफल गर्ने, १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने सन्देश फोनिजका सम्पूर्ण सदस्यहरुले नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई मोबाइलमा पठाउने, फागुन १९ गते फोनिजका सम्पूर्ण सदस्यहरूले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबूकलगायत सामाजिक सञ्जालहरूमा पोस्ट् गर्नेसमेत कार्यक्रम छ ।
यसअघि ‘अग्र अनुहार’नामक पुस्तक विमोचनमा पनि यही सन्दर्भका कारण लफडा भएको थियो । फोनिजले विमोचनअगावै पुस्तकमा प्रथम सभापति श्रेष्ठलाई लेख्न आग्रह गरेको थियो । तर, कृष्णप्रसाद भट्टराईलाई नै प्रथम अध्यक्षका रूपमा लेखिएपछि फोनिजले विमोचन कार्यक्रममा नाराबाजी गर्दै विमोचित पुस्तक नै च्यातिदिएको थियो ।



















