भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा शास्त्रीयताको जादु

54

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको जनाएका छन्।

राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै भनेका छन्, ‘भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो।’

‘शास्त्रीय सङ्गीतको तत्त्वलाई आधुनिक गीतसङ्गीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ ।  कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पुर्‍याउन उनले पुर्‍याउनुभएको योगदान अतुलनीय छ”, समवेदना सन्देशमा उल्लेख छ।

जति चोट दिन्छौँ देऊ मायालु…, मुटु जलिरहेछ…, जहाँ छन् बुद्धका आँखा…, हजार सपनाहरूको माया… लगायत कालजयी र कर्णप्रिय गीतले गीतसङ्गीतप्रेमीमाझ मात्र हैन नेपालीको मनमस्तिष्कमा उनलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

राष्ट्रपतिको समवेदना सन्देश उनकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here