आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु

42

काठमाडौं ।  नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए।

तीनै वटा औषधि ट्याबेलटमा छन्। एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ। यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो।

“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौँ”, उनले भने। महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि रु २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए।

विस २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्दथ्यो। तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो।
हाल आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here