१८ ओटा सम्पदा स्थलको जानकारी दिन प्रयोगमा ल्याइयाे

8

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ ओटा सम्पदा स्थलको जानकारी दिन प्रयोगमा ल्याएको छ । सांस्कृतिक सम्पदा अरूलाई चिनाउँदा प्राचीन, पुरातात्त्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट जोगाउन क्यूआर प्रविधि प्रयोगमा ल्याइएको हो ।

बुधवार कुमारी घरको प्रवेशद्वारसँगै राखिएको कोड स्क्यान गर्दै महानगर उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गरिन् ।

क्यूआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको बाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।

कुमारी घरको जस्तै सबै सम्पदाका क्यूआर कोडमा यस्तै विवरण छन् । क्यूआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सकिने बनाइएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सांस्कृतिक सहरको गरिमा बचाउन काम गरिरहेको बताए ।

वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले सम्पदा क्षेत्र सम्बन्धी पर्यटकलाई गलत जानकारी दिएको उदाहरण दिँदै भने, ‘कालभैरवलाई ब्ल्याक भैरव भन्न थालियो । कालभैरव भन्नु र ब्ल्याक भैरव भन्नुमा शब्दको गहनता धेरै फरक छ । सम्पदाको पहिचान बिगार्न यसरी गरिएका अभ्यास रोक्न प्रविधिले सहयोग गर्ने आशा गरेका छौँ ।’ क्यूआर कोडमा प्राप्त हुने विवरण पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु बासुकलाको अध्ययनमा आधारित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here