कथानक चलचित्र ‘बलिदान’काे अडिसन आह्वान

50

काठमाडौं । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्म ‘बलिदान’का लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मका लागि केही अन्य मुख्य पात्रका लागि इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसन आह्वान गरेका छन् ।

सेनले फिल्मका लागि प्रमुख महिला कलाकार र एक पुरुष कलाकारको आवश्यकता परेको भन्दै २१ देखि ३२ बर्ष उमेरकी महिला र २८ देखि ५५ बर्ष उमेरका पुरुषको अडिसन आह्वान गरेका छन् । अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरसाइकल हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरूष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ। पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ।

यसै वर्ष रिलिज हुने यस फिल्मलाई सन्तोषको मेगा प्रोजेक्टको रूपमा हेरिएको छ । जसकालागि हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। शनिवार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमि पुजा गरिएको थियो। यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन्। फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here