नवलपरासी । एमसीए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिनेछ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत डीन आर थम्पसनले भने, ‘नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यो ४०० केभी सबस्टेशन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो । र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउनेछ ।’
कार्यक्रमका क्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारे । भने, ‘एमसीए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ ।’ बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छ ।
एमसीए– नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजना अन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एकवटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैैछ ।
अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहेका एमसीए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिएअनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल – गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।


















