गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार शिविर आउोजना गरिएको हो ।
स्वास्थ्य शाखाका प्रमुख भट्टले पालिकाभित्रका सबैलाई पायक पर्ने गरी विभिन्न पाँच वटा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिए । “शिविरमा २५ देखि ६० वर्ष उमेर समूहका महिलाले सेवा लिएका थिए”, उनले भने, “परीक्षण गराएकामध्ये करिब पाँच प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्ने जोखिम रहेको पाइएको छ ।”
शिविरमा क्यान्सरको जोखिम देखिएका महिलाले समयमै थप उपचार गर्नुपर्ने भन्दै जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख भट्टले बताए । दुर्गम भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या तथा फिस्टुलाको समस्या बढी देखिने भएकाले समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।


















