काठमाडौं । बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपालले १५ सदस्यीय स्क्वाडमा समावेश गरेको खुलेको छ।
अमेरिकाले भिसा नदिएको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसको खुलासा गरेका हुन्।
उनले लेखेका छन्, ‘१४ जनाको नाम गोप्य राखेर सन्दीप लाई टिममा समावेश गरिएको थियो। सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन टीम व्यवस्थापनले परिपक्व निर्णय गरेको थियो।’
चन्दका अनुसार टोलीमा समावेश भएका १५ खेलाडीमध्ये एक जना ‘वैकल्पिक खेलाडी’का रूपमा अमेरिका गएका थिए। सन्दीपको भिसा लागेको खण्डमा ती खेलाडी वैकल्पिककै रूपमा रहने थिए।
ती खेलाडी को हुन् भन्नेबारेमा दर्शक र समर्थकले अनुमान मात्र गर्न सक्ने तर पुष्टि गर्न नसक्ने अध्यक्ष चन्दको भनाइ छ। ती खेलाडीको मनोबल नघटोस् भनेर यसबारेमा उनलाई पनि जानकारी नगराइएको चन्दको स्टाटसमा उल्लेख छ। लामिछानेलाई अमेरकी दूतावासले दोस्रोपटक प्रयास गर्दा समेत भिसा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सम्भावना सकिएको छ।

















