नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान

41

काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छ।

आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने जनाएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा फिल्म सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ।

विज्ञप्तिमा चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ। ‘अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो। मानव मानवका बिच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ’, पत्रमा भनिएको छ।

पत्रमा अगाडि भनिएको छ, ‘चलचित्र ‘पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ। शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो। सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो। चलचित्र ‘पुजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ।

नेपालका जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ। यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको छ। यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलित आयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको ब्यहोरा अनुरोध छ।’

चलचित्रका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली चलचित्रलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको जनाए। चलचित्रका निर्देशक दिनेश राउतले यस चलचित्र बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको जनाए। ‘यो चलचित्र दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो। यसलाई हामीले नेपालका हरेक बस्तीमा पुर्याउने छौँ। संसारभरका नेपालीमाझ पनि पुर्याइरहेका छौँ’, उनले भने।

चलचित्रले गत बुधवार राजधानीमा विशेष शोको आयोजना गरेको थियो। चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधि सभा सदस्यहरू ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्व खेलकुद मन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्व राजदूत पदम सुन्दास, दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली, प्राज्ञ तथा चलचित्रकर्मी महेश गोदार, दलित अधिकारकर्मी चक्रमान विश्वकर्मा, संविधानसभा सदस्य तथा दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल पुगेका थिए।चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको प्रमुख अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here